निर्मला पन्तका साथीहरुमा देखियो यस्ता समस्या

काठमाण्डु, ४ असोज– निर्मला पन्तको हत्या भएको दुई महिना पुग्न लागेको छ । घटनापछि उनका सहपाठी समेत भयभित छन् । कक्षाकोठामा बसे पनि पढ्न सकिरहेका छैनन् ।स्कुल आउँदा, जाँदा र कक्षाकोठामा बस्दा सोही घटना मनमा खेल्ने गरेको उनीहरु बताउँछन् । भीमदत्त नगरपालिका–२ उल्टीखामकी १३ वर्षीया निर्मलाको बलात्कारपछि हत्या गरिएको थियो । उनी सरस्वती उच्च मावि, खोल्टीमा कक्षा ९ मा पढ्थिन् । ‘हामी सानैदेखि सँगै पढ्थ्यौं, सँगै खेल्थ्यौं’, ९ कक्षामै अध्ययनरत जानकी भट्टले भनिन्, ‘उनी नहुँदा पढ्न मनै लागिरहेको छैन । स्कुल पनि नआउँ जस्तो लाग्छ ।’ जानकी र निर्मला एउटै बेञ्चमा बस्ने २ कक्षादेखिका साथी हुन् ।

कक्षाकोठा अगाडि निर्मलाले बनाएका केही चित्र छन् । भित्र पस्नेबित्तिकै ती चित्र देख्दा उनको यादले सताउने सहपाठीको भनाइ छ । निर्मला र जानकीले शिक्षिका वा नर्स बन्ने सोच बनाएका थिए । त्यही भएर उनीहरु दुबैको कुरा मिल्थ्यो ।कतिपय विद्यार्थी निर्मलाको शव भेटिएको उखुबारी छेउको बाटो हिँड्नै डराउँछन् । ‘त्यहाँ पुग्नेबित्तिकै झसंग भइन्छ’, भीमदत्त नगरपालिका १८ भगतपुरबाट त्यही बाटो स्कुल आउने लक्ष्मी बडुले भनिन्, ‘एक्लै आउन डर लागेर साथीहरु समूहमा मात्र आउँछौं ।’ कान्तिपुर दैनिकबाट

हाम्रो बारे
प्रबन्ध निर्देशक :
निर्देशक :
प्रधान सम्पादक :
कार्यकारी सम्पादक :

© 2017 Chautarionline.com

Designed byappharu