बिराटनगर नै तोकियो प्रदेश १ को स्थायी राजधानी, नाम अझै टुंगिएन

२३ वैशाख, विराटनगर । प्रदेश १ को स्थायी राजधानी बिराटनगर तोकिएको छ । प्रदेशसभाको सोमबार बसेको बैठकले मोरङको औद्योगिक नगरी विराटनगरलाई प्रदेशको स्थायी राजधानी बनाउने प्रस्ताव सर्वसम्मतले पास गरेको हो ।

९३ सदस्यीय प्रदेशसभामा ६ जना अनुपस्थित रहे भने ८६ सदस्यले प्रस्तावको पक्षमा मतदान गरे । विपक्षमा कुनै मत परेन ।

विपक्षी नेपाली कांग्रेसले समेत आˆनो प्रस्ताव फिर्ता लिएर नेकपाको प्रस्तावलाई समर्थन जनाएयो ।

प्रदेशसभामा धनकुटालाई प्रदेश राजधानी बनाउनुपर्ने सहित चार प्रस्ताव पनि दर्ता भएको थियो । तर, सत्तारुढ नेकपाका बुद्धिकुमार राजभण्डारीको प्रस्तावालाई समर्थन गर्दै सबैले प्रस्ताव फिर्ता लिएका थिए ।

प्रदेश नं १ को स्थायी राजधानी विराटनगर भएपनि कार्यपालिका र व्यवस्थापिकाका लागि बन्ने नयाँ संरचना सुनसरीको इटहरी, सुन्दरहरैंचा र विराटनगर आसपास क्षेत्रमा बन्ने प्रस्तावको कैफियतमा उल्लेख छ ।

सबै कार्यालय बिराटनगरमै हुनुपर्ने भन्दै सोमबार बिराटनगरमा हड्ताल समेत भएको थियो । मुख्यमन्त्री शेरधन राईले माग सम्बोधन गर्ने आश्वासन दिएपछि हड्ताल फिर्ता भयो । प्रदेशसभा सदस्य केदार कार्कीले कार्यपालिका तथा व्यवस्थापिकाका नयाँ संरचना एकै ठाउँमा बन्नुपर्ने बताए ।

तर, प्रदेशको नाम भने तय भएको छैन । नाम तय नगरी सोमबारदेखि प्रदेश अधिवेशन अन्त्य भएको छ । अनलाईन खबर बाट

हाम्रो बारे
प्रबन्ध निर्देशक :
निर्देशक :
प्रधान सम्पादक :
कार्यकारी सम्पादक :

© 2017 Chautarionline.com

Designed byappharu