एक जनाको मायाले मात्र जिन्दगी कट्दैन’

तीन वर्षअघि फिल्म ‘नोभेम्बर रेन’बाट फिल्ममा डेब्यू गरेकी हुन्,छुल्ठिम गुरुङले । यो फिल्ममा उनले निर्वाह गरेको चरित्र ‘डल्ली’लाई धेरैले रुचाएका थिएँ । तैपनि, उनले फिल्म नै नखेल्ने मनस्थिति बनाइसकेकी थिइन् । तर, उनी पुनः फिल्ममा फर्किएकी छिन् । त्यो पनि निर्मात्री बनेर । उनीसँग अनिल यादवले गरेको अन्तरंग कुराकानीः निर्मात्री भएकोमा बधाई । एउटै फिल्ममा निर्मात्री र अभिनेत्री दुवै भएर काम गर्दा गाह्रो भएन ?गाह्रो त भइहाल्छ नि । सुटिङका बेला क्यारेक्टरभित्र पसेर काम गरुम् न भन्यो, एउटा आउँछ ‘यो भएन’ भन्छ, अर्को आउँछ ‘त्यो भएन’ । कहिले यो पुगेन, कहिले त्यो पुगेन । व्यवस्थापकीय जिम्मेवारी पनि काँधमा थपिएपछि गाह्रो त हुने रैछ । राति एक बजे सुतेर बिहान चार बजे उठ्नुपथ्र्यो । दुःख त धेरै भयो । लोकेसनका बेला उस्तै टाउको दुखेको थियो । फिक्स गरेको ठाउँमा ताल्चा लागेको हुन्थ्यो अनि तत्काल अर्को लोकेसन म्यानेज गर्नुपथ्र्यो । यीयावत् समस्या भोगियो । सुटिङ सकिएपछि ठूलै समस्या पार लाएजस्तो हुँदोरैछ । अहिले चाहिँ फिल्म प्रमोसनको दौडधूप छ ।

तपाईंले त ‘नोभेम्बर रेन’ रिलिज हुन नपाउँदै फिल्म क्षेत्रबाट सन्न्यास लिने घोषणा गर्नुभएको थियो । फेरि फर्किने मुड कसरी आयो ? त्यो समय फरक थियो । त्यतिबेला मलाई आफू फिल्म इन्डस्ट्रीका लागि बनेको होइन जस्तो लाग्यो । त्यही भएर नखेल्ने घोषणा गरेकी थिएँ । धेरैले फिल्म रिलिज भएपछि अभिनयको तारिफ गरे । तैपनि, फर्किने सोच बनाएको थिइनँ । फिल्म रिलिज भएको डेढ वर्षपछि मात्र कमब्याक हुन तयार भएकी हुँ । खासमा वरिष्ठ अभिनेत्री भुवन चन्द दिदीको कुराले मलाई सोच्न बाध्य बनाएको हो । एउटा अवार्ड फङ्सनको पार्टीमा भेट्दा उहाँले मेरो फिल्म अमेरिकामा हेरेको र राम्रो लागेको बताउनुभयो । उहाँले त्यतिबेला ‘तिम्रो फिल्म हेरेपछि मलाई राम्रो अभिनेत्रीको उदय भएको महसुस भयो ।

यसअघि रेखा थापालाई ‘हिरो’मा खेल्नेबित्तिकै ऊ चल्छ भनेको थिएँ’ भन्दै प्रशंसा गर्नुभयो । हाम्रो बेलामा त्यस्तो दुःख हुँदा त काम गरियो, अहिले धेरै राम्रो भइसकेको छ भन्दै उहाँले काम नछोड्न सुझाउनुभयो । उहाँको कुरा सुनेर मेरो आँखाभरि आँशु भयो । त्यो दिन उहाँको कुरा सुनेर अभिनयमा फेरि फर्किने ऊर्जा मिलेको हो । त्यही माथि मेरो दाइ (स्क्रिप्ट राइटर) छेतन गुरुङले ‘डायरी’ स्क्रिप्ट सुनाउँदै काम गरौँ भन्नुभयो । उहाँको मोटिभेसनले पनि मलाई काम गर्ने झनै ऊर्जा मिल्यो । त्यसपछि फिल्म ‘आवरण’का निर्माताले मिलेर काम गर्ने प्रस्ताव राखे । पछि हामीले ज्वाइन्ट भेन्चरमा ‘डायरी’ बनायौँ । यदाकदा पहिलो फिल्मको सुटिङताका तपाईं फिल्म युनिटसँग असन्तुष्ट हुनुहुन्थ्यो भन्ने पनि सुनिन्छ । त्यसैले यस क्षेत्रप्रति तपाईंमा निराशाभाव पलाएको रे !

एक त त्यतिबेला म बच्चै थिएँ । अर्को नयाँ कलाकार भनेर ट्रिट गर्ने तरिका फरक भयो होला । छ वर्षजति रेडियो, टेलिभिजनमा कार्यक्रम चलाइसकेपछि अभिनयमा प्रवेश गरेकी थिएँ । त्यतिबेला यो क्षेत्रसँग त्यति सन्तुष्ट हुन सकिनँ । विचार नमिलेर पनि होला । एक त फिल्मको भाषा र मिडियाको भाषा अलग हुने रैछ, त्यही भएर पनि होला । समयसँगै ममा पनि परिपक्वता आयो । बिस्तारै, यो क्षेत्रलाई बुझियो । राम्रा–नराम्रा खाल–खालका मान्छे हुन रैछन् । चिनेर अघि बढ्नुपर्ने रैछ । हिरोइन बन्छु भनेर कहिल्यै सोच्नुभएको थियो ?

मेरो सानैदेखि डान्समा रुचि थियो । डान्सर बन्छु भन्ने चाहिँ थियो । हिरोइन नै बनिएला भन्ने लागेको थिएन । मेरा पापा बारा डुमरवाला गाविस वडा नम्बर–४ को अध्यक्ष हुनुहुन्थ्यो । उहाँ रिटायर्ड इन्डियन आर्मी पनि हो । म उहाँको बुढेसकालको छोरी हो, बुढेसकालको लाठी । रिटायर्ड भएर आइसकेपछि म जन्मिएकी हुँ । मेरा दुई दाइ र दुई दिदी उमेरले मभन्दा धेरै जेठो हुनुहुन्छ । मलाई अझै याद छ पापाले एउटा मादल ल्याउनुभएको थियो । उहाँ बजाउनुहुन्थ्यो, म नाच्थेँ । खुट्टामा लाउने घुँगरु ल्याइदिनुहुन्थ्यो । म त्यो लाएर छमछम बजाउँदै नाच्थेँ । उहाँको प्रोत्साहनले आज म यहाँसम्म आइपुगेकी हुँ । उहाँ मलाई सधैँ डिफेन्सिभ र स्वतन्त्र भएर काम गर्न प्रेरित गर्नुहुन्थ्यो । मायाले मलाई ‘कान्छो छोरी’ भन्नुहुन्छ । त्यस्तै, अर्को रमाइलो कुरा के छ भने मेरो घरमा गोरेबहादुर खपांगी, कमल थापा लगायतको आउजाउ हुन्थ्यो । उहाँहरूको भाषण, कुरा सुनेर पनि होला म त्यतिबेला ठूलो भएर नेता बन्छु भन्थेँ । फिल्म ‘नोभेम्बर रेन’मा काम गर्ने अफर चाहिँ कसरी आएको हो ?

निर्माता सुवास गिरी मेरो राम्रो मित्र हुनुहुन्थ्यो । उहाँले मलाई कुनै दिन तपाईंले मेरो फिल्ममा खेल्नुपर्छ भनेर जिस्किनुहुन्थ्यो । एक दिन त साँच्चिकै फिल्मको अफर गर्नुभयो । ‘डल्ली’ भन्ने क्यारेक्टरको खोजी भइरहेको रहेछ । एकदुईजना सँग कुरा पनि भइसकेको रहेछ । म उहाँको कार्यालय बिजुलीबजार जाँदा फिल्मको सबैजना भेला हुनुभएको थियो । मैले सुरुमै ‘ह्या मलाई आउँदैन, म गर्दिनँ’ भनेर भनेँ । एकचोटि स्क्रिप्ट हेर्न भनेपछि हेरेँ । ठीकै लाग्यो । मैले त्यसपछि म अडिसन दिन्छु र दुवैलाई सन्तुष्टि मिल्योे भने मात्र गर्छु भनेँ । त्यसपछि अडिसन दिएँ । उहाँहरूलाई चित्त बुझ्यो । अडिसन दिएपछि चाहिँ म आफैँलाई पनि आउँछ कि क्या हो जस्तो महसुस भयो । त्यसपछि खेल्न तयार भएकी हुँ । मलाई याद छ मैले जिस्किएर त्यतिबेला ‘मिडियाबाट कमाएको अलि–अलि नाम छ, त्यो पनि मिट्टी नमेटाइदिनुन’ भनेको थिएँ । तर, फिल्म रिलिज भएपछि त मलाई धेरैले पो चिने । नाम त मेटिएन बरु थपियो । सबैले फिल्मकै क्यारेक्टरको नामबाट ‘डल्ली’ भनेर बोलाउन थाले । फिल्म ‘डायरी’मा तपाईंको भूमिका कस्तो छ ?

जोयाको भूमिकामा छु । जोया एकदमै फिल्मी केटी हुन्छे । मनको सफा । रेडियोमा काम गर्छे । स–सानो कुरामा रमाउँछे, खुशी हुन्छे । ‘नोभेम्बर रेन’मा केटा टाइपको युवतीको रोल भन्थे । यहाँ चाहिँ प्युर केटीको रोल छ । क्यारेक्टर त तपाईंको रियल लाइफसँग मिल्छ कि क्या हो ? कतै–कतै मिल्न सक्ला । तर, पूरै मिल्दैन । फिल्म सुरु हुनुभन्दा अघि लेखिन्छ नि ‘यो कथा यदि कसैको जीवनमा मेल खान गएमा संयोग मात्र हुनेछ’ यो चाहिँ मैमाथि लागू हुने अवस्था छ । पहिलोपल्ट तपाईंको फिल्मबाट रेखा थापा भिलेन बन्दैछिन् । तर, फिल्मको ट्रेलर लन्चमा रेखाको सहभागिता देखिएन । हालसालै सार्वजनिक पोस्टरमा पनि उनको अनुहार देखिएन । फिल्मको प्रमोसनमा रेखाको असहयोग हो ? त्यस्तो होइन । ट्रेलर लन्चको दिन चाहिँ उसको आफ्नो मान्छे बिरामी भएकाले मैले नै नआउन भनेको हुँ । पोस्टरको कुरा गर्दा सुरुमा लभ फ्लेभरको पोस्टर सार्वजनिक गर्ने र त्यसपछि रेखाको सोलो गर्ने भन्ने सल्लाहअनुरूप यसो गरेका हौँ । म र मेरो हिरो सन्नी सिंहको पोस्टर आउट भइसक्यो । अब रेखाको भिलेनरूपी पोस्टर आउँछ । रेखाले फिल्म रिलिज हुनु एक हप्ता अघिबाट प्रमोसनमा व्यापक सहयोग गर्छ । अहिले चाहिँ राजनीतिमा पनि लागेको हुनाले पार्टीको काममा पनि व्यस्त भएको हो । तपाईं त गायिका पनि हो, है ?

खोइ, हो नै भन्नुपर्ला । ‘खसेको तारा’ भन्ने गीत त गाएँ । तर, खासमा मैले आफ्नो रहर पूरा गर्नलाई गाएकी हुँ, पेशा बनाउनलाई होइन । मसँग नजिक साथीभाइ धेरैजसो सिंगर नै छन् । त्यसैले होला गायनमा रस चढेको । तर, म पर्फेक्ट सिंगर होइन । ‘खसेको तारा’पछि अर्को गाउने हिम्मत गरेकी छैन । तर गाउने इच्छा अझै मरेको छैन है । तपाईंले त छोटो अवधिमै नेपालका चल्तीका अभिनेताहरूसँग काम गरिसक्नुभयो है ? मैले आर्यन सिग्देलसँग ‘नोभेम्बर रेन’मा काम गरेँ । सौगात मल्लसँग ‘मेरो पैसा खै’मा काम गरेको छु । रिलिज हुन बाँकी छ । दयाहाङ राईसँग ‘नेप्टे’ फिल्ममा काम गर्दैछु । जेठबाट सुटिङ सुरु हुँदैछ । म यो मानेमा आफूलाई लक्की ठान्छु । सौगातको काम गर्ने शैली मलाई असाध्यै मन प¥यो । क्यारेक्टरमा निकै डुबरे काम गर्ने । आर्यनलाई त बिन्दास एक्टर भन्छु । ऊ बिन्दास तरिकाले काम गर्छ । हाल तपाईंकै फिल्मका निर्देशक अनिल योञ्जनसँग तपाईं अफेयरमा हुनुहुन्छ भन्ने चर्चा छ नि । खास कुरो के हो ?

म मेरो फिल्म हिरो सन्नी सिंहसँग हिँड्दा उसको साथीहरूले गर्लफ्रेन्ड हो कि भनेर शंका गर्छन् रे ! अनिलसँग हिँड्दा पनि त्यस्तै शंका होला । तर, त्यस्तो केही पनि छैन । ऊ मेरो बिजनेस पार्टनर मात्र हो । खासमा त म सबैको प्रेममा छु । यत्रो दर्शकले माया गर्नुभएको छ । मलाई त एक जनाको मायाले पुग्दैन । मेरो अनुभवमा त एक जनाको मायाले मात्र जिन्दगी कट्नेवाला छैन । तपाईंको गायक धीरज राईंसँग प्रेम विवाह भएको थियो । तपाईंहरूको सम्बन्ध किन टिकेन ? बिहे, जन्म र मृत्यु भन्ने कुरा लेखेरै आएको हुँदोरैछ । हामीले चाहेर केही नहुने रहेछ । मैले ऊसँग बिहे गर्दा भर्खरै एसएलसी सकेकी थिएँ । १६ वर्षकी थिएँ । बिहेपछि काठमाडौँ आइयो । ११ वर्ष सँगै बसियो । डिभोर्स भएको तीन वर्ष भयो । हामीबीच विचार मिल्न छाड्यो । त्यसपछि अब एकअर्कासँग बस्न सक्दैनौ भनेर समझदारीमै छुटेका हौँ ।

हाम्रो बारे
प्रबन्ध निर्देशक :
निर्देशक :
प्रधान सम्पादक :
कार्यकारी सम्पादक :

© 2017 Chautarionline.com

Designed byappharu