Tuesday, December 1

१४ दिन लकडाउन गर्न आग्रह : ७ दिन अत्यावश्यकबोहकका सेवा, बजार र यातायात बन्द गर्ने निर्णय

November 2, 2020 195

बागलुङ । बागलुङ बजारमा कोरोना संक्रमण बढ्न थालेपछि उद्योग वाणिज्य संघले लकडाउन गर्न आग्रह गरेको छ । उद्योग वाणिज्य संघले १४ दिन लकडाउन गर्न जिल्ला प्रशासन कार्यालय र बागलुङ नगरपालिकालाई आग्रह गरेको छ ।
संघको हिजो बसेको बैठकले समुदायमा थप संक्रमण फैलिन सक्ने जोखिम रहेको भन्दै लकडाउनको लागि आग्रह गरेको हो ।

संक्रमण थप फैलिन नदिनका लागि आफूहरु व्यवसाय बन्द गर्न तयार रहेको भन्दै संक्रमण न्यूनिकरणका लागि आफूहरुले सक्दो सहयोग गर्ने संघका महासचिव नरेश कँडेलले बताए ।

उनले बैंक तथा वित्तीय संस्थासहित अन्य व्यवसाय १४ दिन बन्द गर्ने गरी जिल्ला प्रशासन र बागलुङ नगरपालिकालाई पत्राचार गरेको जानकारी दिए । बागलुङमा अहिलेसम्म ६ सय ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १ सय ७९ जना आइशोलेसनमा छन् ।

बागलुङ बजार एक साता बन्द
कोरोना रोकथामका लागि बागलुङ नगरपालिका–१, २, ३ र ४ वडा आज मध्यरातदेखि लागू हुने गरी एक साताका लागि बन्द गरिने भएको छ । प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेको अध्यक्षतामा आज बसेको सर्वपक्षीय बैठकले सदरमुकामका चार वडामा अत्यावश्यकबोहकका सेवा, बजार र यातायात बन्द गर्ने निर्णय गरेको हो ।

बैङ्क तथा वित्तिय संस्था पनि बन्द हुने जनाइएको छ । यसअघि बागलुङ नगरपालिका र बागलुङ उद्योग वाणिज्य सङ्घलेसमेत कोरोना सङ्क्रमणको जोखिम बढेको भन्दै बन्दाबन्दी गर्न जिल्ला प्रशासन कार्यालयललाई अनुरोध गरेको थियो । खाद्यन्न, तरकारी, दूध, औषधि, एम्बुलेन्सलगायतका अत्यावश्यक सेवा भने सुचारु रहने छन् ।

दैनिक उपभोग्य सामग्रीको किनमेलका लागि बिहान ७ देखि ९ बजेसम्मलाई समय तोकिएको प्रजिअ न्यौपानेले जानकारी दिनुभयो । यस्तै मध्यपहाडी पुष्पलाल लोकमार्ग र कालिगण्डकी करिडोरमा चल्ने सवारीसाधन भने नियमित सञ्चालन हुनेछन् । ती सवारीसाधनले बजार क्षेत्रमा प्रवेश गरी यात्रु चढाउन र ओराल्न भने पाउने छैनन् ।

सम्बन्धित वडा कार्यालयबाट प्रवाह हुने सेवा पनि बन्दको अवधिमा स्थगित गर्ने निर्णय गरिएको छ । औषधि, खाद्यान्न खरिद र अत्यावश्यक काममाबाहेक घरबाहिर ननिस्कन जनसाधारणलाई अनुरोध गरिएको प्रजिअ न्यौपानेले बताउनुभयो । सरकारी कार्यालय र सार्वजनिक संस्थाले सकभर विद्युतीय माध्यमबाट सेवा दिने र कर्मचारी उपस्थति हुनै पर्ने स्थितिमा भिडभाड नगरी कार्यालय सञ्चालन गरिने भएको छ ।

बैठकले नजिकिएको पर्व तिहारमा खेलिने देउसी भैलोलाई पनि रोक लगाउने निर्णय गरेको छ । बागलुङ बजार क्षेत्रमा सङ्क्रमण बढेकाले समुदायमा फैलनबाट रोक्न नचाहेर पनि बन्दाबन्दी गर्नुपरेको बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले बताउनुभयो । उहाँका अनुसार सदरमुकाममा मात्र अहिले २५ जना सक्रिय सङ्क्रमित छन् ।

प्रतिकृया दिनुहोस्