Friday, November 27

हृदयबिधारक दृश्य : वैदेशिक राेजगारीकाे सिलसिलामा मलेशियामा शाहीको मृत्यु भएपछि बाकसमा नेपाल आएको शव खोलेर हेर्नुपर्दा

November 5, 2020 119

‘नेपालको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलमा जसोतसो आइपुगेको शव सुटकेस बोक्ने ट्रलीमा घिसारेर पार्किङसम्म ल्याउनुपर्ने दर्दनाक अवस्था छ । बर्सेनि १ हजारभन्दा बढी शव भित्र्याउने एयरपोर्टमा सम्मानजनक रूपमा शव ल्याउने र परिवारलाई बुझाउने व्यवस्था नगरिनुले नागरिकप्रतिको असंवेदनशीलता र गैरजिम्मेवारपनालाई प्रस्ट पारेको छ ।’

वैदेशिक रोजगारीमा गएका कामदारको उतै मृत्यु हुँदा शव ल्याउने प्रक्रियाबारे सर्वोच्च अदालतले गरेको फैसलामा उल्लेख भएका यी तथ्यले कैयौं यस्ता कथा भनिरहेका छन्, जसलाई हाम्रो राज्यप्रणालीले दिनहुँ देखेर पनि नदेखेझैं गरिरहेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हरेक दिन करिब १ हजार ४ सय नेपाली श्रमका लागि बिदेसिन्छन् । यसरी बिदेसिएकामध्ये विभिन्न कारणले उतै ज्यान गुमाएकाहरूको औसतमा तीनवटा शव दिनहुँ भित्रिन्छन् । विदेशी भूमिमा पसिना पोखेर परिवार र आफन्तको सपना साकार बनाउन गएका युवा यसरी बन्द बाकसमा फर्किंदा विमानस्थलमा देखिने दृश्य अत्यन्तै हृदयविदारक हुन्छ । शोकविह्वल परिवारजनले शव बुझ्न विमानस्थल पुगेका बेला खेप्नुपर्ने सास्तीप्रति राज्य संयन्त्र भने विल्कुलै संवेदनाशून्य र अमानवीय देखिन्छ ।

कामदारका सेवा–सुरक्षा र अन्तर्राष्ट्र्रिय नीति–नियमका प्रबन्धहरू विगतको भन्दा सहज र व्यवस्थित हुँदै गए पनि नेपाली श्रमजीवीका हकमा बन्द बाकसमा घर फर्कनुपर्ने नियति खासै घट्न सकेको छैन । सुरक्षित र मर्यादित वैदेशिक रोजगारीका कुरा नारामै मात्र सीमित छ ।

विदेशबाट नेपाली कामदारले पठाउने आँसु–पसिनाको कमाइलाई हामी मुलुकको अर्थतन्त्रमा रेमिट्यान्सको हिस्सा भन्दै गणना गर्छौं । तर तिनै कामदारको विदेशी भूमिमा मृत्यु भयो भने ‘कारण नखुलेको’ वा ‘अध्ययनको विषय’ भन्दै पन्छिने सरकारी प्रवृत्ति कायमै छ । अस्वाभाविक मृत्युका हकमा नियमानुसार पोस्टमार्टम नहुने त छँदै छ, शव ल्याउने प्रक्रियामै समेत महिनौं लाग्ने गरेको छ ।

बन्द बाकसका शवलाई सम्मानजनक रूपमा ल्याउने र परिवारजनको संवेदनामा आँच नपुग्ने गरी घरसम्म पुर्‍याउने व्यवस्था तत्काल गर्नैपर्छ । विमानस्थलमा शव प्रतीक्षालयको भौतिक संरचना बनाउन वा अन्य उपयुक्त व्यवस्था मिलाउन ढिलाइ हुनुहुँदैन । वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका कामदारको शवको पोस्टमार्टम स्वदेशमै गरेर मृत्युको कारण पत्ता लगाउन सर्वोच्चले दिएको आदेश पनि कार्यान्वयन हुनैपर्छ । राज्य केबल रेमिट्यान्सको लेखाजोखाका लागि मात्र होइन । विदेशी भूमिमा पसिना पोखेर त्यसको मूल्य भित्र्याउने आफ्ना नागरिकका दुःखमा साथ दिनु उसको अनिवार्य दायित्व हो ।

यसै क्रममा दैलेखमा एउटा घटना पछिको एउटा तस्विरले निकै जो कोहीलाई भावुक बनाउछ । रोजगारीका लागि मलेसियामा पुगेका हिमबहादुर शाहीकाेशव बाकसमा घरमा आइपुग्दा आफन्त र सिङ्गो गाउँ नै सोकमा डुब्यो । यो तस्विरमा बाकस खोलेर शाहीको शव अन्तिम पटक आफन्तले हेर्न लागेको दृश्य हो जुन तस्विरले सार्है भावुक बनाएको छ ।

शाहीको मृत्यु पछि घरमा उनकी श्रीमती र छोरा काजक्रियामा बसेको दृश्यसंगै अर्को छोरा डाँको छोडेर रुँदै गरेको दृश्यले कसको मन नरुवाउला र ? यो तस्विर सामाजिक संजाल फेसबुकमा राख्दै मोहन शाही लेख्छन्, याे तस्वीरले साह्रै भावविह्वल बनायाे ! 😭😭😭
वैदेशिक राेजगारीकाे सिलसिलामा मलेशियामा रहेका भतिज हिमबहादुर शाहीकाे लास काठकाे बाकसमा घरमा पुगेपछि भावविह्वल परिवारजन । भतिजप्रति भावपूर्ण श्रद्धाञ्जली तथा शाेकसन्तप्त परिवारजनमा समवेदना ।

प्रतिकृया दिनुहोस्