Friday, November 27

ओझेलमा बाँचेका दम्पती जसले कोरोनाको भ्याक्सिन बनाए रातारात उनीहरूको कम्पनीको सेयर ४.६ अर्ब डलरबाट पुग्यो २१ अर्ब

November 11, 2020 235

क्यान्सर रोगीहरूमा प्रतिरोधी क्षमता विकास गर्न लागिपरेका एक जर्मन दम्पतीको प्रयासकै निरन्तरताले अहिले कोरोनाविरूद्धको लडाइँमा महत्वपूर्ण उपाय निकाल्ने संकेत दिएको छ।
जर्मन बायो टेक्नोलोजी कम्पनी ‘बायो एन टेक’ले अमेरिकी साझेदार ‘फाइजर’सँग मिलेर कोरोना भाइरसविरूद्ध बनाएको खोप सफलताउन्मुख देखिएको छ।

सोमबार मात्रै फाइजरले आफ्नो खोपले कोरोना नियन्त्रणमा ९० प्रतिशत बढी प्रभावकारिता देखाएको घोषणा गरेको थियो। यो घोषणालगत्तै विश्व स्वास्थ्य संगठन प्रमुखदेखि नवनिर्वाचित अमेरिकी राष्ट्रपति र संसारभरका महत्वपूर्ण व्यक्तिले उत्साह प्रकट गरेका थिए।

वैज्ञानिकहरू, जनस्वास्थ्य अधिकारीहरू र विश्वभरका लगानीकर्तामा समेत यसले खुसीको लहर फैलाएको छ। एउटा वृहत अध्ययनपछिको प्रारम्भिक तथ्यांकले यो खोपको सम्भावनायुक्त नतिजा देखाएको हो।
दुवै कम्पनी मिलेर कोरोना खोप बनाएलगत्तै व्यापक हिसाबले गरिएको परीक्षण (क्लिनिकल ट्रायल)मा सरिक भएका थिए। यतिबेला सफलताको पहिलो नतिजा सुनाउने हिसाबले तथ्यांक सार्वजनिक गर्ने मामिलामा फाइजर र बायो एन टेक विश्वकै पहिलो औषधि उत्पादक बनेका छन्।
यी साझेदार कम्पनीले आफ्नो उत्पादनबाट गम्भीरतापूर्वक लिइनुपर्ने कुनै पनि समस्या अहिलेसम्म नदेखिएको उल्लेख गरेका छन्। सम्भवत नोभेम्बर अन्त्यसम्म अमेरिकामा आकस्मिक प्रयोगका लागि अनुमति दिइनु पर्ने मागसमेत राख्नेछन्।

त्यो भनेको कुनै पनि खोपका लागि अनुसन्धान र औद्योगिक उत्पादनभन्दा बीचको अवधि हो। आकस्मिक प्रयोगको अनुमतिकै बेला यो खोप १६ देखि ८५ वर्षसम्मका मानिसमा परीक्षण गरिनेछ। औद्योगिक उत्पादनपछि भने यो बजारमै आउन थाल्नेछ।

अमेरिकाबाट यो अनुमति पाएको खण्डमा यही वर्ष पाँच करोड डोज तयार पारिसक्ने अनुमान कम्पनीले गरेको छ। यसबाट अढाइ करोड मानिसमा खोप प्रयोग गर्न सकिनेछ। त्यसपछि सन् २०२१ मा यो कम्पनीले थप १ अर्ब ३ करोड डोज उत्पादन गर्न सक्नेछ।

बायो एन टेकका प्रमुख कार्यकारी हुन् ५५ वर्षीय उगुर साहिन। उनका अभिभावक जर्मनीको कोलोन सहरस्थित फोर्ड कम्पनीको कारखानामा काम गर्थे। उनीहरू टर्कीबाट बसाइ सरेर आएका आप्रवासी थिए।

उगुरकी ५३ वर्षीया पत्नी ओएज्लाम त्वेरेज पनि कम्पनीकै बोर्ड सदस्य छिन्। साप्ताहिक अखबार ‘वेट आम जोन्टाग’ले दिएको जानकारी अनुसार यो दम्पती यतिबेला जर्मनीकै सर्वाधिक धनी सय जनाको सूचीमा पर्छन्।
यो जोडीले सन् २००८ मा स्थापना गरेको कम्पनी बायो एन टेकलाई यतिबेला सेयर बजार ‘नास्दाक’ले २१ अर्ब अमेरिकी डलर बजार मूल्य आँकेको छ। यो शुक्रबार बेलुकीको मूल्यांकन हो। जबकि एक वर्ष अघिसम्म पनि यो कम्पनीको बजार मूल्य केबल ४.६ अर्ब अमेरिकी डलर थियो।

अब यही कम्पनीले विश्वका धेरै जनसंख्याका लागि कोरोनाविरूद्ध खोप तयार पार्नमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने संकेत देखिएको हो।

‘जस्तोसुकै उपलब्धी हासिल गरे पनि उगुरको भद्र अनि शालीन व्यक्तित्वमा रत्तिभर फरक आउँदैन। अहिले पनि कतै बिजनेस मिटिङमा जानुपरे उनी जिन्स लगाएर, पछाडि पोके झोला बोकेर अनि उनको चिरपरिचित साइकल हाँकेरै पुग्छन्,’ बायो एन टेकलाई स्थापनादेखि नै आर्थिक सहयोग गर्दै आएको मिग एजी नामको भेन्चर क्यापिटल फर्मका बोर्ड सदस्य माथियाज कोमायार भन्छन्।

चिकित्साशास्त्र पढेर डाक्टर बन्ने बाल्यकालदेखिको सपना पछ्याउँदै उगुरले कोलोन र दक्षिणपश्चिमी सहर हमबर्गमा रहेका शिक्षण अस्पतालमा काम गरेका थिए। पढाइका प्रारम्भिक वर्षमै उनले भावी पत्नी त्वेरेजलाई भेटेका थिए।
चिकित्सा अनुसन्धान र क्यान्सर विज्ञानमा उनीहरूको साझा रूचि थियो।

त्वेरेज एक टर्किस चिकित्सककी छोरी हुन् जसका अभिभावक पनि जर्मनी आएका आप्रवासी थिए। एउटा अखबारलाई अन्तर्वार्ता दिने क्रममा त्वेरेजले आफूहरूको बिहेको दिन पनि दुवैले एउटा ल्याबको काममा समय दिएको उल्लेख गरेकी थिइन्।

उनीहरूले साथसाथै अनुसन्धान गरेर क्यान्सर बिरामीका निम्ति प्रतिरोधी प्रणाली विकासबारे खोजी गरे। साथै प्रत्येक ट्युमरको आनुवांशिक विशेषता पत्ता लगाउने कोशिस गरेका थिए।

सन् २००१ मा यो जोडी मिलेर ‘गानमिड फर्मास्युटिकल्स’ खोले। उनीहरूको व्यावसायी जीवन यहीँबाट सुरू भएको थियो। यो औषधि उत्पादक कम्पनीले क्यान्सरसँग लड्न ‘एन्टी-बडी’ विकास गर्थ्यो। त्यतिबेलै माइन्ज युनिभर्सिटीमा प्राध्यापक भइसकेका उगुरले प्राज्ञिक अनुसन्धान र अध्यापन कहिल्यै छाडेनन्।

उनीहरूलाई अध्ययन, अनुसन्धान र उत्पादनको काममा अघि बढ्न मिग एजी र थोमस एन्ड आन्द्रियास स्त्रुंगमान जस्ता कम्पनीले लगानी गरिदिए। यो कम्पनीले सन् २००५ मा आफ्नो औषधि उत्पादक कम्पनी ‘हेक्साल’ स्विट्जरल्यान्डको नोभार्तिस कम्पनीलाई बिक्री गरेको थियो।

यसरी थालिएको काम फेरि जापानको एस्टेलाजलाई सन् २०१६ मा १.४ अर्ब अमेरिकी डलरमा बिक्री गरियो। त्यसअघि सन् २००१ मै दम्पती मिलेर खोलेको गानमिड फर्मास्युटिकलले सन् २००८ मा अहिलेको कम्पनी बायो एन टेक उभ्याइसकेको थियो।
बायो एन टेक स्थापनाको मूल उद्देश्य नै क्यान्सर बिरामीलाई अझ लाभदायी हुनेगरी फराकिलो दायराका रोग प्रतिरोधात्मक थेरापी सामग्री उत्पादन गर्नु थियो। त्यस्ता उत्पादनमध्ये ‘म्यासेन्जर आरएनए’ पनि पर्छ।

यो यस्तो अणु हो जसले प्रोटिनमा एमिनो एसिडको सही अनुक्रम ‘इन्कोड’ गरिदिन्छ। कोषहरूमा अनुवांशिक निर्देशनहरू पठाउन यसको उपयोग गरिन्छ। र, यतिबेला कोरोनाविरूद्ध लड्न यही कुरा वरदान साबित हुने देखिन थालेको छ।

स्वप्नदर्शी टिमः

मिग कम्पनीका कोमायार र उगुर दम्पती, यी तीनै जना मिलेर एउटा यस्तो स्वप्नदर्शी टिम विकास भएको छ। यसले यथार्थमा असाध्यै जटिल मानिने र अवरोधपूर्ण कामलाई आफ्नो ‘भिजन’का रूपमा विकास गर्दै आएको छ।

गत जनवरीमा उगुरले एक वैज्ञानिक अनुसन्धान पत्र बोकेर आएपछि बायो एन टेकको कथाले नयाँ मोड लिएको हो। त्यो पत्र चीनको वुहान सहरमा फैलिएको नयाँ कोरोना भाइरसका बारेमा थियो।

आफूहरूले क्यान्सरविरूद्ध लड्न बनाउँदै आएको ‘म्यासेन्जर आरएनए’ औषधि त छँदै थियो। ‘म्यासेन्जर आरएनए’मै आधारित ‘भाइरल भ्याक्सिन’ तयार पार्ने हो भने त्यो सानो प्रयासले कति ठूलो काम गरिदिन सक्छ भन्ने ठम्याएपछि उगुर चित खाएका थिए।

सामान्यतया खोप तयार पार्दा असर नपारी शरीरभित्र भाइरस प्रवेश गराउँदै रोग प्रतिरोधी क्षमता विकास गराइन्छ। ‘म्यासेन्जर आरएनए’ पद्धतिमा भने भाइरसको सट्टा ‘सिन्थेटिक जीन’ प्रवेश गराइन्छ र यसबाटै रोग प्रतिरोधी क्षमता विकास गराइन्छ।

उगुरले त्यो सम्भावना देख्नेबित्तिकै बायो एन टेक कम्पनीले तत्काल करिब ५ सय जना कर्मचारीलाई एउटा नयाँ परियोजनामा खटायो। उनीहरूले थुप्रै परीक्षण गर्नेदेखि लिएर विश्वकै विख्यात औषधि उत्पादक फाइजर र चिनियाँ औषधि उत्पादक ‘फोसान’सँग सहकार्य गर्न मार्चमा सहमति गरे।

माथियाज थियोबाल्ड माइन्ज विश्वविद्यालयकै अर्का एक क्यान्सर सम्बन्धी प्राध्यापक हुन्। उनले उगुरसँग २० वर्षसम्म साथै काम गरेका छन्।
‘औषधि विज्ञानलाई नयाँ मार्गमा लैजान उनमा अथक महत्वाकांक्षा भरिएको छ। यसको उदाहरण कोरोना खोप बनाउने बेलामा देखाएको भरोसाले प्रतिबिम्वित गर्दैछ,’ उगुरबारे माथियाज भन्छन्, ‘उनी असाध्यै भद्र र विनम्र छन्। देख्दै नपत्याउँदो भएर बस्छन्। तर, उनी जहिल्यै यस्तो संरचना तयार पार्ने योजना बुनिरहेका हुन्छन् जसमा उनले देखेका सपनाले साक्षात रूप लिऊन्। र, अलि मिहेनत गर्नेबित्तिकै त्यसलाई झ्याप्पै समात्न सकियोस्।’

उगुरले सोमबार रोयटर्ससँग कुरा गर्दै अरूले आफूहरूलाई ‘अत्यन्त असाधारण सफलता’ मिलेको भनिरहेको बताए। तर केही महिना अघिसम्म यो काम कति मुश्किल हुनेछ भन्ने जानकारी समेत आफूलाई नभएको उनले उल्लेख गरे।

‘यसलाई असाध्यै ठूलो वैज्ञानिक खोजजस्तो गरेर बढाइचढाइ गरिनुपर्ने देख्दिनँ,’ उनले भने, ‘यो सम्भावनाको दायराभित्रकै काम हो जस्तो चाहिँ मलाई सुरूदेखि नै लागेको थियो।’

खोपको सफलतासँगै सोमबारै युरोपियन युनियनले ३० करोड डोजका निम्ति फाइजर र बायो एन टेक कम्पनीसँग छिट्टै सम्झौता गरिने बताइसकेको छ।

यी उत्पादकले अमेरिकी सरकारसँग आगामी वर्षको सुरूमै दस करोड डोज उपलब्ध गराउने गरी १.९५ अर्ब अमेरिकी डलरमा सम्झौता गरिसकेका छन्। तर उनीहरूले यो औषधि अनुसन्धानका लागि ट्रम्प प्रशासनबाट कुनै आर्थिक सहयोग पाएका थिएनन्।

फाइजर र बायो एन टेकले बेलायत, क्यानडा र जापानसँग पनि खोप उपलब्ध गराउने सम्झौता गरिसकेको छ।

उता विश्व स्वास्थ्य संगठनले खोपका मामिलामा प्राप्त भएको यो नतिजा अत्यन्तै उत्साहजनक भएको प्रतिक्रिया दिँदै यो खोपलाई मध्यम तथा न्यून आय भएका मुलुकमा उपलब्ध गराउन ४.५ अर्ब अमेरिकी डलर सहयोग अझै अपुग भएको उल्लेख गरेको छ।

(रोयटर्सका लागि लुडविग बर्गर र पेट्रिसिया वेसले लेखेको स्टोरीको भावानुवाद)

setopati

प्रतिकृया दिनुहोस्