Saturday, November 28

स्थागत निक्षेपकर्तामा ब्याज आम्दानी ४० प्रतिशतसम्म घट्दै

September 3, 2020 74

१८ भदौ, काठमाडौं । स्टाण्डर्ड चार्टर्ड बैंकले ९१ दिने संस्थागत मुद्दति निक्षेपको ब्याजदर घटाएर ४ प्रतिशत तोकेको छ । केही महिना अघिसम्म यो व्याजदर ७ प्रतिशत हाराहारीमा थियो । बैंकले एक वर्षे (३६० दिन) मुद्दति निक्षेपका लागि ५ प्रतिशत व्याजदर तोकेको छ । स्टाण्डर्ड चार्टर्ड बैंक कम ब्याजदर दिने बैंकमै गनिन्छ । तर अन्य बैंकको अवस्था पनि उस्तै छ । एनआईसी एशिया बैंकले ३ महिने संस्थागत निक्षेपका लागि व्याजदर घटाएर ५ देखि ५.१० प्रतिशत कायम गरेको छ । नयाँ आउने निक्षेपका लागि ५ प्रतिशत र नवीकरण हुने निक्षेपका लागि ५.१० प्रतिशत ब्याजदर तोकिएको हो । ६ देखि ९ महिनासम्मका लागि ६ प्रतिशतदेखि ६.१० प्रतिशत दिने उल्लेख गरेको एनआईसी एशियाले एक वर्षका लागि ६.५० प्रतिशत देखि ६.६० प्रतिशत दिने छ । यतिबेला सबै बैंकहरुले ब्याजदर घटाएका छन् । २ खर्ब रुपैयाँभन्दा माथि लगानीयोग्य रकम (तरलता) जम्मा भएपछि बैंकहरुले निक्षेपलाई निरुत्साहन गरिरहेका छन् । कुनै बेला १२ प्रतिशत ब्याज दिएर पनि निक्षेप तानातान गर्न खोज्ने बैंकहरुलाई अहिले निक्षेपले थिचिरहेको छ ।

निक्षेपको ब्याज घट्दा सर्वसाधारणलाई मर्का

पछिल्लो समय लगातार ब्याजदर घट्दा बैंकमा निक्षेप राखेर ब्याज आम्दानीबाट खर्च टार्नेहरु समस्यामा परेका छन् । बैंकहरुले लगानीयोग्य रकम अभाव भएका बेला निक्षेपमा सर्वसाधारणलाई आकर्षक ब्याज दिन्छन् । तर, यतिबेला उल्टो अवस्था छ । ‘अहिले कर्जाको माग पर्याप्त नभएकाले ब्याज घटेको छ, कर्जाको ब्याज घटेपछि हामीले निक्षेप पनि त महँगोमा लिन सक्दैनौं,’ एक बैंकका सीईओले भने । महँगोमा निक्षेप लिए कर्जा पनि महँगो ब्याजदरमा लगानी गर्नुपर्ने हुन्छ । तर अहिले कर्जाको माग नभएकाले व्याजदर बढाउने अवस्था छैन । राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्ट निक्षेपलाई प्रोत्साहन गर्नु पर्ने बताउँछन् । निक्षेपको ब्याजदर घट्दै जाने हो भने बैंकमा जम्मा हुने रकम भारततिर जाने खतरा उनले औंल्याए । राष्ट्र बैंकले संस्थागत निक्षेपको हकमा ब्याजदर नघटाउन र व्यक्तिगत निक्षेपको हकमा बचतकर्तालाई निरुत्साहित नगर्न बैंकहरुलाई भनिएको जानकारी दिए । पुस मसान्तमा ६.८ प्रतिशत रहेको निक्षेपको ब्याजदर चैत मसान्तमा आइपुग्दा ६.७ प्रतिशतमा झरेको थियो । असार मसान्तसम्ममा ६ प्रतिशत कायम भएको छ । अझ साउन महिनाको तथ्यांक आइपुग्दा योभन्दा पनि तल ओर्लने सम्भावना देखिएको प्रवक्ता भट्ट बताउँछन् ।

बार्गेनिङ क्षमता कमजोर

बैंकहरुले निक्षेपको ब्याज लगातार तल झार्नु भनेको निक्षेपकर्ताको कमजोरी पनि हो । संस्थागत निक्षेपकर्ताहरुको ‘बार्गेनिङ’ क्षमता कमजोर हुँदा निक्षेपको ब्याजदर ओरालो लागिरहेको छ । यही तरिकाले निक्षेपको ब्याजदर घट्दै जाने हो भने निक्षेपकर्ताहरुको ब्याज आम्दानीमा ४० प्रतिशतसम्म गिरावट आउने देखिएको नागरिक लगानी कोषको मात्रै ९० अर्ब रुपैयाँ हाराहारीमा निक्षेप रहेको छ । बैंक तथा वित्तीय संस्थाहरुमा अन्य संस्थागत निक्षेपकर्ताहरुको पनि ठूलो हिस्सा छ । नेपाल आयल निगमको १८ अर्ब रुपैयाँभन्दा धेरै बैंक तथा वित्तीय संस्थाहरुमा निक्षेप रहेको छ । केही दिन अघिमात्रै दुई बैंकमा निगमले निक्षेपको नवीकरण गराएको छ । बीमा कम्पनीहरुको नियामक निकाय बीमा समितिको पनि ३ अर्ब रुपैयाँभन्दा धेरै बैंकहरुमा निक्षेप छ । कर्मचारी सञ्चय कोष र राष्ट्रिय बीमा कम्पनीको पनि राम्रै निक्षेपको हिस्सा रहेको छ । यी संस्थाहरुको आम्दानीको एउटा श्रोत ब्याज पनि हो । अर्बौ रुपैयाँ बैंकमा राखेका यी संस्थाहरुले वार्षिक ब्याज आम्दानीबाट मोटो रकम कमाउने गरेका छन् । यी संस्थाहरुले ठूलो रकम बैंकहरुमा राख्दा यसले ब्याजदर निर्धारणमा पनि राम्रै भूमिका खेलेको हुन्छ । तर यी संस्थाहरुले अहिले निक्षेपको ब्याजदरका विषयमा बार्गेनिङ गरेका छैनन् । आखिर किन हुँदैन बार्गेनिङ ? बैंकर्स संघका एक कार्यसमिति सदस्य भन्छन्, ‘प्राविधिक समस्या छ ।’

उनले औंल्याएको प्राविधिक समस्या यस्तो छ

निकै ठूलो निक्षेप रकम जम्मा गर्ने दुई संस्थाहरु कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोष हुन् । कर्मचारी सञ्चय कोषका प्रशासक तुलसी गौतम हिमालयन बैंकको अध्यक्ष छन् । नागरिक लगानी कोषका कार्यकारी निर्देशक रमण नेपाल पनि लक्ष्मी बैंकको अध्यक्ष चुनिएका छन् । ‘आफैं बैंकको सञ्चालक समिति अध्यक्ष भएपछि बार्गेनिङ गर्न मिल्ने कुरा पनि भएन,’ ती बैंकरले भने ।

अरु निक्षेपकर्ताको अवस्था पनि उस्तै छ । बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईं छन् । ३ अर्ब रुपैयाँभन्दा माथि निक्षेप राखेको यो समिति अर्थमन्त्रालय माताहतको संस्था हो । अर्को राष्ट्रिय बीमा कम्पनीको सीईओमा अर्थमन्त्रालयकै कर्मचारी छन् । उनीहरुले ब्याजदरको विषयमा बार्गेनिङ गर्ने कुरै भएन । आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले भने बार्गेनिङ गरेर पनि ब्याजदर बढी लिएको श्रोत बताउँछ । एक साताअघि मात्रै निगमले दुई वटा वाणिज्य बैंकमा रहेको निक्षेप नवीकरण गराएको छ । १८ अर्ब रुपैयाँ निक्षेपमा योगदान दिने निगमका कार्यकारी निर्देशकले दुबै बैंकलाई ७ प्रतिशत ब्याज दिनैपर्छ भनेर बार्गेनिङ गरेका थिए ।

अन्य संस्थाहरुले ५ प्रतिशत झार्नै लाग्दा समेत निगमले भने थोरै भए पनि बार्गेनिङ गरेर राम्रै ब्याज लिएको श्रोतको दावी छ । ‘संस्थालाई राम्रो बनाउनु पर्छ भन्ने सोच उहाँमा रहेछ, हामीले दिनै सक्दैनौं भन्दा पनि उहाँले धेरै जिद्धी गरेपछि ७ प्रतिशतमा नवीकरण भएको हो,’ एक बैंकका कर्जा अधिकृतले भने । अन्य संस्थाहरु भने बार्गेनिङ नै नगरी चुप लागेर बस्दा बैंकहरुले न्युनतम ब्याज दिने गरेका छन् ।

४० प्रतिशतसम्म नोक्सानीको खतरा

यही तरिकाले निक्षेपको ब्याजदर घट्दै जाने हो भने निक्षेपकर्ताहरुको ब्याज आम्दानीमा ४० प्रतिशतसम्म गिरावट आउने देखिएको छ । केही समय अघिसम्म ९.५ प्रतिशतसम्म निक्षेपको ब्याजदर तोकेका बैंकहरुले अहिले नै ६ प्रतिशत बनाइसकेका छन् भने साउन मसान्तसम्मको तथ्यांक आइपुग्दा ५ प्रतिशत वरीपरी व्याजदर रहेको सहजै अनुमान गर्न सकिन्छ । यसरी ब्याजदर घट्ने हो भने संस्थागत निक्षेपकर्ताको ब्याज आम्दानीमा ४० प्रतिशत गिरावट हुने पक्का छ । पूर्व बैंकर अनलराज भट्टराई बैंकले निक्षेपको ब्याजदर घटाउदा ठूलो संख्यामा रहेका सर्वसाधारणलाई असर पर्ने बताउछन् । बैंकमा निक्षेप राख्ने र त्यसबापत प्राप्त भएको ब्याजले गुजारा चलाउने गरेको एउटा समुदाय नै भएको भन्दै उनले निक्षेपको ब्याज घट्दा उनीहरु समस्यामा पर्ने औंल्याए । भट्टराई भन्छन्, ‘व्यक्तिगतमा पनि कोही नियमित तलब लगायतका आम्दानी मात्रै राख्छन् भने अर्को अन्य क्षेत्रमा जोखिम नलिने र बैंकमा निक्षेप राखेर नियमित आम्दानीको रुपमा प्रयोग गर्ने हुन्छन्, ब्याज घट्दा उनीहरुको आम्दानी घट्छ र समस्यामा पर्छन् ।’ अर्को भनेको संस्थागत निक्षेपकर्ता हुन् । संस्थागत निक्षेपकर्ताहरुमा बीमा कम्पनीहरु, नागरिक लगानी कोष, कर्मचारी सञ्चय कोष, म्युचुअल फन्ड लगायत छन् । म्युचुअल फण्डले तरल सम्पत्तिको रुपमा बैंकमा रकम जम्मा गर्नै पर्ने बाध्यकारी व्यवस्था गरेको छ । बैंकको ब्याज कम हुँदा व्यक्तिगत मात्रै होइन यी संस्थाहरुलाई समेत समस्या पर्छ ।

प्रतिकृया दिनुहोस्