Tuesday, December 1

दिनमा १६ घन्टा नखाऔं ८ घन्टा खाऔं, धेरै फाइदा हुन्छ (भिडिओसहित)

September 15, 2020 242

हामीले पहिलादेखि नै सुन्दै आएका कुरा हुन्- शरीरको तौल नियन्त्रणमा राख्नुपर्छ। रक्तचाप ठीक्क राख्न नुन कम खानुपर्छ। तौल घटायो भने सुगर नियन्त्रण गर्न सजिलो हुन्छ।

व्रत (फास्टिङ) बसे कुनै न कुनै फाइदा हुन्छ भन्ने पनि हामीलाई लाग्दै आएको हो। त्यही भएर व्रत बस्ने चलन पुस्तौंदेखि चल्दै आएको छ। अहिले यसको महत्व र फाइदाबारे नयाँ प्रमाण आउन थालेका छन्।

जनवार र मानिसमा गरिएका अनुसन्धानले प्रमाणसहित व्रत बस्नाले राम्रो हुँदो रहेछ भनिसकेपछि विश्वास लाग्नु स्वभाविक पनि हो।

फास्टिङले फाइदा गर्छ भन्ने कुरा हाम्रा पोषणविदले सधैँ सल्लाह दिइराखेकै हो। तौल घटाउन पर्‍यो भने ८ र १६ अर्थात् ८ घन्टा खाने १६ घन्टा नखाने सुत्र अपनाइन्छ।
अहिले आएर विज्ञानले पनि यसलाई प्रमाणित गरेको छ कि बीचबीचमा खाली पेट राख्नाले हाम्रो मेटाबोलिजमको क्यालोरी पचाउने तरिका नै फेरिँदो रहेछ।

खाना खाँदा त्यसको क्यालोरी कलेजोमा गएर ग्लुकोज बन्ने प्रक्रिया सुरू हुन्छ।

ग्लुकोजले हामीलाई शक्ति दिन्छ। तर त्यो शक्ति तत्काल खर्च भएन भने बोसोमा परिणत भएर भण्डारण (स्टोर) हुन्छ।

हाम्रो शरीर त्यो सारा स्टोर गर्ने काममा व्यस्त हुन्छ। केही यस्ता तत्व पनि क्यालोरीबाट उत्पादन हुन्छन् जसले शरीरलाई हानी गर्छ, चाँडै बूढो बनाउँछ। यदि हामीले सधैँ खाइरह्यौं भने यो क्रम जारी रहन्छ।
पेट खाली राख्ने, थोरै खाने गर्‍यो भने फ्याट जति डिपोजिट भएको छ त्यसलाई शरीरले खर्च गर्न थाल्छ।

यो प्रक्रिया २४ घन्टाभित्रै पनि हुनसक्छ। त्यसले गर्दा लामो समय खाली पेट राखेर तौल कम गराउनेभन्दा पनि एकै दिनको २४ घन्टाको चक्र (साइकल)मा पनि खाली पेटले फ्याट खपत गर्ने काम गर्छ।

ग्लुकोजको मेटाबोलिजम र किटोनको मेटाबोलिजमको ‘स्विचिङ’ हाम्रो शरीरका लागि फाइदाजनक हुन्छ। त्यसले सुगर, प्रेसर नियन्त्रण गर्न सजिलो हुन्छ भन्ने थाहा थियो अहिले आएर थप प्रमाणित भएको छ।

व्रत बसे हाम्रो मस्तिष्कको सम्झन सक्ने क्षमता बढ्ने, तनाव र खराब वातावरणसँग लड्न सक्ने क्षमता वृद्धि गर्ने र लामो समय बाँच्न पनि मद्धत गर्छ भन्ने थप प्रमाण आएका छन्। यो हामी सबैका लागि व्यवहारिक ज्ञानको हिसाबले महत्वपूर्ण जानकारी हो।

यो सबै मेकानिजम त न मैले बुझेको छु न विज्ञानले धेरै कुरा व्याख्या गर्छ। यो थप अनुसन्धानकै चरणमा छ।
फास्टिङको प्रक्रियाले कसरी स्मरण शक्ति बढ्छ भन्ने कुरा त आज पनि विज्ञानले व्याख्या गर्न सक्दैन किनभने मस्तिष्कलाई कसैले सम्पूर्ण रूपमा व्याख्या गर्न सकेको छैन। अनुसन्धानकै विधिबाट के प्रमाणित भएको हो भने बीचबीचमा खाली पेट राख्नेको तौल घटने, खराब अवस्थालाई डिल गर्ने क्षमता, स्मरण शक्ति बढी हुने देखिएको छ।

 

फास्टिङले ४-५ वटा कुरामा सकारात्मक भूमिका खेल्दो रहेछ भन्ने विज्ञानका अनुसन्धान र विभिन्न प्रकाशनले देखाएका छन्। त्यसैले खाना कम गरौं, तौल घटाऔं र शरीरलाई सन्तुलनमा राखौं।

फास्टिङका लागि २-३ वटा तरिका अपनाउन सकिन्छ।

२४ घन्टामा ८ घन्टा खाने, १६ घन्टा नखाने एउटा उपाय हो।

अर्को उपाय सातामा ५ दिन खाने र २ दिन थोरै खाने गर्न सकिन्छ। अर्थात् दैनिक क्यालोरी ५/६ सयमा झार्ने गर्दा पनि हुने रहेछ। यसका लागि पूरै भोकै र व्रत बसेजस्तो पनि गर्नु पर्दैन।

५ दिन सामान्य खाना खाने अनि दुई दिन एकदमै न्यून क्यालोरी भएको खाना खाने गर्नुपर्छ।

त्योबाहेक लामो समय भोकै बसेर फेरि खाने खालका तरिका पनि छन् तर त्यो हामीलाई व्यवहारिक हुँदैन।

दैनिक कम क्यालोरीयुक्त खाना खाने पनि फाइदाजनक छ। त्योभन्दा बढी फाइदाजनक ८ र १६ घन्टाको सुत्र छ। त्योभन्दा पनि बढी फाइदाजनक ५ दिन खाने र २ दिन नखाने सुत्र भएको विज्ञानले प्रमाणित गरको छ।

यसबारे थप जानकारी भने हामीले पोषणविदबाट लिनुपर्छ तर म यसमा ‘कन्भिन्स’ भएको छु। आफैं पनि यो विषयलाई व्यवहारमा ल्याउने सोचमा पुगेको छु।

मलाई ठीक्क क्यालोरी खाने र त्यसलाई व्यायामबाट पगालेर पठाउने भन्ने लागेको थियो। अब त्यसले अलि पुगेन, पचाएरमात्रै हुँदो रहेनछ खाली नै राख्यो भने अरू ‘ड्यामेजिङ’ तत्व कम बन्ने रहेछन् भन्ने प्रमाण मिल्यो।

जसलाई ग्याष्ट्रिक छ, सुगर छ। पेट खाली राखे असर गर्छ। उनीहरूले चाहिँ फास्टिङ गर्ने कि नगर्ने ध्यान पुर्‍याउन पर्छ। बेलाबेलामा खाइरहनु पर्ने भए क्यालोरी थोरै भएको खाना खानु पर्छ।

८ र १६ घन्टा वा ५ र २ दिनको कुनै पनि सुत्र लगाउनु पहिला पेटका चिकित्सक र पोषणविद्सँग पनि सल्लाह लिनुपर्छ किनकी सबैलाई एउटै सुत्र लागू हुन्छ भन्ने हुँदैन।
जसलाई खाली पेट बस्न अप्ठेरो छ, उहाँहरूले भिन्न तरिका अपनाउनु पर्ने हुन्छ।

हामीले कोलेस्टोर, कार्बोहाइड्रेट र प्रोटिन खान्छौं। यो सबै शरीरका लागि जरूरी पनि छ। हामीले दिने सल्लाह के हो भने, नुन कम हुनेबित्तिकै रक्तचाप नियन्त्रण गर्न सजिलो हुन्छ। कार्बोहाइड्रेट आफैं तत्काल पचेन र खर्च भएन भने त्यो बोसोमा परिणत हुन्छ। प्रोटिन शरीर र मांसपेशीका लागि चाहिन्छ। यो अरू शक्तिको स्रोत पनि हो।

योसँगै कार्बोहाइड्रेट, फ्याट, प्रोटिन सन्तुलित हिसाबले खानुपर्छ। तर बीचबीचमा केही नखानाले हाम्रो शरीरलाई क्यालोरीको सन्तुलनभन्दा पनि भिन्न तरिकाले फाइदा गर्छ भन्ने यसको सार हो।

युवा हुँदा धेरै इनर्जी खर्च गर्ने खेल खेल्ने मान्छेहरूलाई त्यति पीर नपर्ला किनकी त्यो खपत भइरहन्छ। तर धेरै खाने र धेरै खपत गर्नेको पनि एउटा ‘लोड’ भने हुँदो रहेछ। खाना पचाउने क्रममै निस्किने तत्वले पनि थोरै हानी गर्ने रहेछ।

यसको सम्बन्ध मुटु स्वास्थ्यमा पनि देखिन्छ।

मुटु स्वस्थ राख्न मेडिटेरियन डाइटको चलन बढी छ। हुन त तौल नियन्त्रणका लागि धेरै खाले डाइटका फर्मुला छन्। छोटकरीमा यी सबैले के भन्छन् भने सागसब्जी, बदाम, ओखर र फलफूलको मात्रा बढाउने अनि प्रोटिन, कार्बोहाइड्रेटको मात्रा ठीक्क खाने र फ्याटलाई नियन्त्रण गर्ने गर्नुपर्छ।

त्यो त डाइटको फर्मुला हो। त्यसले मुटुलाई पनि राम्रो बनाउँछ। योबाहेक अलिअलि व्यायाम पनि गर्नैपर्छ। मुटुलाई लोड दिनुपर्छ जसका लागि व्यायाम अनिवार्य छ।

तौल र प्रेसर नियन्त्रण गर्न नुन र अन्य कुरालाई नियन्त्रण गर्नु अर्को महत्वपूर्ण पाटो हो।

फास्टिङ गर्नेले व्यायाम पनि गर्‍यो भने अझै राम्रो हुन्छ। तर फास्टिङ नगर्नेले पनि व्यायाम त गर्नैपर्छ।

हामीले हृदयघातबाट बच्ने सुत्र सधैँ बताउँदै आएका छौं। म आज पनि भन्छु:

१.तौल र रक्तचाप नियन्त्रण गरौं।

२.सुगर नियन्त्रण गरौं या हुनै नदिऔं अथवा खतरामा छ भने त्यसलाई कम गर्न फास्टिङका काइदा अपनाऔं। या डाइबेटिजको चिकित्सकले भनेजस्तो गरौं।

३.कोलेस्टोरको मात्रा ठेगानमा राखौं। त्यसलाई पनि घटाउन तौल नियन्त्रण गरौं र खाना पनि नियन्त्रण गरौं।

४. स्ट्रेसलाई व्यवस्थापन गरौं त्यसका लागि ध्यान, व्यायाम र खेलकुदमध्ये कम्तिमा एउटालाई प्राथमिकता दिने गरौं।

५. दैनिक कि ४५ मिनेट छिटोछिटो हिँड्ने या ३०-३५ मिनेट दौडिने, जगिङ गर्ने अथवा पसिना निकाल्ने काम गरौं।

तौल नियन्त्रण सबै मुटु रोगबाट बच्ने उपाय हो। यसमा फास्टिङको पनि भूमिका बढी देखियो भन्ने थप जानकारी आएको छ। यी सबै हामीले भन्दै आएका कुरा हुन् अब व्यवहारमा उतार्न पर्‍यो, यो वा त्यो बहानामा घरमा बस्ने अनि सिरक ओढेर सुत्ने गर्न भएन।

(नेपाल मेडिकल काउन्सिलका अध्यक्षसमेत रहेका कोइरालासँग सेतोपाटीका लागि सन्जिब बगाले र रविन न्यौपानेले गरेको कुराकानीमा आधारित।)

प्रतिकृया दिनुहोस्