Wednesday, October 21

गुण्डा नाइके ‘बले’सँग एक अर्बको अवैध सम्पत्ति उनी र श्रीमतीविरूद्ध २० करोड बिगो कायम गरी विशेष अदालतमा मुद्दा दायर

October 6, 2020 76

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले क्यासिनो ‘किङ’ भनेर चिनिने दरबारमार्ग क्षेत्रका ‘गुन्डा नाइके’ बलराम सापकोटा ‘बले’विरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।
एक वर्ष लामो अनुसन्धानपछि सोमबार बले र उनकी श्रीमती सिर्जना कक्षपतिविरूद्ध विभागले मुद्दा लगेको महानिर्देशक रुपनारायण भट्टराईले सेतोपाटीलाई बताए।

उनका अनुसार बलेलाई १७ करोड ४७ लाख र कक्षपतिलाई दुई करोड ४७ लाख रुपैयाँ बिगो कायम गरी मुद्दा दायर गरिएको हो।

भट्टराईका अनुसार उनीहरूले गैरकानुनी रुपमा जोडेको सम्पत्ति मुख्यगरी होटल र घरजग्गामा लगानी गरेका छन्। यसरी जोडिएको सम्पत्तिको मूल्य करिब एक अर्ब रहेको भट्टराईले बताए। जोडेको उक्त सम्पत्ति जफत गर्न माग गरिएको छ।
भट्टराईका अनुसार बलेले मानव तस्करी, हातहतियार प्रयोग दुरुपयोग र क्यासिनोमा मिटर ब्याज लगानीबाट यतिको सम्पत्ति आर्जन गर्न सफल भएको खुलेको छ। एक वर्षअघि बले महाराजगञ्जको जुवा अखडाबाट समातिएपछि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सम्पत्ति छानविन गर्न थालेको थियो।

भट्टराईका अनुसार बले र उनकी श्रीमतीका नाममा झापामा १३ बिगाहा जग्गा छ। त्यही जग्गामा उनको लगानीमा पाँचतारे होटल खुलेको छ। मेची क्राउन प्लाजा नामक उक्त होटलमा अनुमतिबिनै क्यासिनोसमेत सञ्चालन गरिएको बिभागले बताएको छ। भारतीय ग्राहकका लक्षित गरी त्यहाँ क्यासिनो सञ्चालनमा ल्याइएको हो।

उक्त क्यासिनो बन्द गर्ने प्रयोजनका लागि सम्बन्धित निकायलाई जानकारी गराइसकेको भट्टराईले बताए।

‘अवैध रुपमा क्यासिनो सञ्चालन गरेको पाइएपछि हामीले नियामक निकायलाई बन्द गराउन रिपोर्टिङ गरिसकेका छौं,’ भट्टराईले भने।
यस्तै, सापकोटाको नाममा काठमाडौंमा आठ आना जग्गा र त्यसमा बनेको घर देखिएको छ। उनको काभ्रेमा ६ रोपनी जग्गा देखिएको छ।

उनीसँग अत्याधुनिक सवारीसाधनहरू देखिएका छन्। ती सवारीसाधन जफत प्रयोजनका लागि मुद्दा दायर गरिएको छ।

बले भने फरार रहेको भट्टराईले बताए।

को हुन् बले?

बले काभ्रे रोशी गाउँपालिकाका हुन्। अन्नपूर्ण होटलमा सामान्य काम गर्दा उनलाई ‘बले’ भनिन्थ्यो। त्यही होटलको क्यासिनोबाट उनी मौलाउँदै गएर ‘क्यासिनो किङ’ भनेर चिनिए।

बले दरबारमार्ग क्षेत्रको आपराधिक तथा रात्रिकालीन व्यवसाय विशेषगरी क्यासिनोको मिटर ब्याज लगानीले चर्चित छन्। आपराधिक दुनियाँमा उनलाई ‘बले’ उपनाम बढी चिनिन्छन्।

प्रहरीको सूचीमा उनी आपराधिक गतिविधिका गुन्डा नाइके भनिन्थे।

उनी अन्नपूर्ण क्यासिनोमा हारेका जुवाडेलाई मौखिक धितोमा ऋण दिन्थे। एक लाख रुपैयाँको ब्याज दिनमै १० हजार तिराउँथे।

राजधानीमा प्रहरीसँग सेटिङ मिलाएरै बले आफ्नो समूहका केटा प्रयोग गरेर घरजग्गा नै लिलाम गर्न सक्थे। त्यसैले उनी राम्रो पहुँच बनाउन प्रहरीका हाकिमहरूलाई भेट्न नै पुग्थे।

२०७० सालमा काठमाडौं प्रहरीमा भर्खरै एसएसपी रमेश खरेलको पोस्टिङ हुँदा बले भेट्न पुगेका थिए। भेट्न आएकै झोंकमा खरेलले उनलाई सार्वजनिक मुद्दामा थुनिदिएका थिए।

२०६७ सालमा एसपीको रुपमा काठमाडौं प्रहरीमा उनै खरेल रहँदा बले एकपटक पक्राउ परेका थिए। सार्वजनिक मुद्दामा पक्राउ परेका उनलाई प्रशासनले धरौटीमा छोडेको थियो।

खरेलका अनुसार सापकोटा भ्रष्ट प्रहरीबाट संरक्षित व्यक्ति हुन्। उनले क्यासिनोमा नेपालीलाई छिराउँथे। पैसा हार्दै गए पनि मिटर ब्याजमा सापटी दिएर कंगाल बनाउँथे।

‘कंगाल बनाएपछि त्यहीँ घर-जग्गा धितो राख्ने कागज गराउने र नमाने अपहरणसम्म गर्ने उनको दैनिकी थियो,’ खरेल भन्छन्, ‘म काठमाडौं जानुअघि प्रहरीका हाकिमहरूले क्यासिनोबाट महिनावारी खान्थे। मैले ब्रेक गरेको हो। पैसा खाएर प्रहरीले यस्ता मान्छे संरक्षण गर्थे।’

यिनै बले गत वर्षको तिहारअगाडि पक्राउ खाए। महाराजगञ्जको मिनी क्यासिनोमा दुई करोड ६७ लाख नगदसँगै हाई प्रोफाइल २५ जुवाडे पक्राउ पर्दा उनी पनि थिए।

क्यासिनोको लतमा फसेका नेपाली तथा भारतीयलाई चर्को ब्याजमा पैसा लगानी गरेर उनी आपराधिक दुनियाँमा लागेका थिए।

तत्कालीन अन्नपूर्ण क्यासिनोसँगै काठमाडौंका अन्य क्यासिनोमा पनि उनको प्रभाव विस्तारै बढ्दै गयो। ब्याज उठाउन उनी समूह नै परिचालन गर्थे।

एक समय यस्तो थियो कि क्यासिनो सञ्चालकले सरकारलाई बुझाउनुपर्ने रोयल्टीसमेत बुझाउँदैनथे। क्यासिनोमा नेपालीको खुला प्रवेशले अपराध थामिनसक्नु गरी मौलाएपछि सरकारले कडाइ थाल्यो। सो कडाइसँगै रोयल्टीको बक्यौता उठाउन सरकारले ताकेता गरेपछि क्यासिनोको अवैध कारोबार सुक्न थाल्यो। बले पक्राउ पर्ने डरले भागेर भारतसम्म पुगेका थिए।

भारतको सिक्किमका क्यासिनोमा केही समय बसेपछि उनी नेपाल फर्किएका थिए। क्यासिनोहरू बन्द हुन थालेपछि उनी नेपाल फर्किन सजिलो भएको थियो।

आपराधिक गतिविधिबाट आर्जित लाभलाई संरक्षण गर्न उनी नेपाली कांग्रेस पार्टीमा सक्रिय हुन खोजेका थिए। काभ्रे कांग्रेसमा कोषाध्यक्षमै चुनाव पनि उठे तर पराजित भएपछि तत्कालीन एमालेमा सक्रिय भए। अहिले उनी नेकपानिकट मानिन्छन्।

प्रतिकृया दिनुहोस्