Sunday, August 1

प्रेमिकाको अरूसँग पनि सम्बन्ध छ भन्ने थाहा पाएपछि…

October 13, 2020 433

गत बुधबार सवा ११ बजे पर्साको कालिकामाई गाउँपालिका-४ गंगोला खोलामा एक महिलाको शव भेटियो।
ती महिलाको हात- खुट्टा कपडाले बाँधिएको थियो। आँखा कपडाले बेरिएको थियो भने घाँटी पनि कसिएको थियो।

ती महिलाको शवलाई हेर्दा हत्या भएको हो भन्नेमा कुनै शंका थिएन। तर प्रहरीले ती महिलाको सनाखत तत्कालै गर्न भने सकेन। पोष्टमार्टमको लागि महिलाको शव नारायणी अस्पताल लगियो।

प्रहरीले ती महिलाको सनाखत गर्ने प्रयास गर्दै जाँदा उनकी छोरी सम्पर्कमा आइन्। भारत उत्तरप्रदेश थाना रामकोला ग्राम सुरजपट्टी बस्ने १८ वर्षीया तरन्नु खातुनले आफ्नी आमाको पहिचान गरिन्।
मृतक ४० वर्षीया रेहाना भन्ने मैरुन नेसा थिइन्।

जिल्ला प्रहरी कार्यालय पर्साले यस घटनामा अनुसन्धान गर्न विशेष टोली नै बनाएको थियो। घटनाबारे अनुसन्धान गर्न प्रविधियुक्त टोली बनाएको थियो।

अनुसन्धानकै क्रममा प्रहरीले रेहानाको मृत्युपछि उनका प्रेमी शैफुल खान पैठान फरार रहेको पत्ता लगायो।

उनी हेटौंडा उपमहानगरपालिका चिसापानी चोकमा डेरा गरी बस्दै आएका थिए। तर सो डेरा गत सोमबार नै छाडिसकेका थिए।
अनुसन्धानकै क्रममा आइतबार प्रहरीले उनी भारत भाग्दै छन् भन्ने खबर पायो।
भारत भाग्नुअघि उनी सोही ठाउँका इन्तियाज खान भन्ने व्यक्तिसँग एक हजार रुपैयाँ लिन पुगेका थिए। उनीसँग पैसा लिएर पैठानले भारत भाग्ने योजना बनाएका थिए।

तर उनी भाग्न सकेनन्। सोमबार बिहान १० बजे पर्साको टोलीले कालिकामाई गाउँपालिका २ मा रहेको मस्जिदमा लुकेर बसेको अवस्थामा पक्राउ गर्‍यो।

पर्साका प्रहरी नायब उपरीक्षक मनोजित कुँवरका अनुसार रेहानाको सम्बन्ध बिच्छेद भइसकेको छ। यता शैफुल खान पैठान भने विवाहित पुरूष हुन्।

डिभोर्स भएपछि नौ महिनाअघि उनी पर्सामा आएर धागो कारखानामा काम गर्दै थिइन्। नेपाल आएपछि रेहानाको चिनजान पैठानसँग भयो।

‘उनीहरूबीच चिनजान भयो। सँगसँगै बसेको जसरी शारीरिक सम्बन्ध सबै भइसकेको रहेछ,’प्रहरी नायब उपरीक्षक कुँवरले भने,’केटा पनि हेटौंडामा काम गर्थ्यो।’

उनका अनुसार पुरूषले रेहाना र उनकी छोरी दुबै जनालाई लिएर हेटौंडामा लान खोजेका थिए। तर रेहानाले भने मानेकी थिइनन्।

सँगै बस्ने भन्दै पैठाने हेटौंडामा कोठा समेत लिइसकेका थिए।

तर पछि पैठानले रेहानाको सम्बन्ध अरूसँग पनि रहेको थाहा पाए।

‘केटाले ती महिलाको अरूसँग पनि शारीरिक सम्बन्ध छ भन्ने थाहा पाएपछि उनले हत्या गर्ने निर्णय गरेका रहेछन्,’उनले भने।

शनिबार राति पैठानले रेहानालाई शारीरिक सम्बन्ध राख्न भन्दै आफैं हात-खुट्टा बाँध्न लगाएका थिए।

प्रहरी नायब उपरीक्षक कुँवरका अनुसार हात खुट्टा बाँधिसकेपछि आँखामा पट्टी लगाएर पछि पैठानले रेहानाको घाँटी कसेर हत्या गरेका थिए।

हत्यापछि उनले रेहानाको शव खोलामा लगेर फ्याँकेको पुष्टि भएको प्रहरीले बताएको छ।

अहिले प्रहरीले पैठानलाई हिरासतमा लिई थप अनुसन्धान अघि बढाएको छ।
Setopati

प्रतिकृया दिनुहोस्