Wednesday, October 21

‘बलात्कारी संगठन’ नामक फेसबुक ग्रुप चलाउने व्यक्ति पक्राउ

October 16, 2020 82

३० असोज, काठमाडौं । नेपाल प्रहरीले ‘बलात्कारी संगठन’ नामक फेसबुक ग्रुप चलाएको अभियोगमा एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा प्युठानको झिम्रुक घर भई नवलपरासी बस्ने १९ वर्षका नविन बस्नेत छन् ।

उनलाई नवलपरासीमा पक्राउ गरेर काठमाडौंतर्फ ल्याइएको प्रहरीको साइबर ब्युरोका निमित्त प्रमुख एसएसपी नविन्द अर्यालले अनलाइनखबरलाई बताए ।
बढ्दो बलात्कार र महिला हिंसाका घटनासँगै यसको विरोधमा पछिल्लो समय प्रदर्शनहरु भएका थिए । केही समयअघि अधिकारकर्मीले काठमाडौंमा ‘तँ बलात्कारी होस्’ भन्ने गीत गाएर प्रदर्शन गरेका थिए ।

त्यसपछि यो ग्रुप चर्चामा आएको थियो । ग्रुपमा अश्लील विषयहरु लेखिएका थिए । यस विषय सामाजिक सञ्जालमा सर्वत्र चासो व्यक्ति भएपछि प्रहरी प्रधान कार्यालय, नक्सालले अनुसन्धानका लागि निर्देशन दिएको थियो ।

बस्नेतले विगतमा पनि विभिन्न विशिष्ट व्यक्तिको हत्या गर्ने भन्दै स्टाटस लेख्ने गरेको पाइएको बताए । उनले बलात्कार सम्बन्धी ग्रुप किन खोले भन्ने खुलिनसकेको बताए ।

यो पनि पढ्नुहोस्
थाइल्याण्डमा प्रतिबन्धका बीच आन्दोलन जारी, राजीनामा नदिने प्रधानमन्त्रीको अडान
३० असोज, काठमाडौं । थाइल्याण्डका प्रधानमन्त्री प्रायुथ चाङ–ओचाले पदबाट राजीनामा नदिने बताएका छन् । मुलुकमा लगाइएको आपतकाल अवज्ञा गर्दै हजारौं मानिसहरु सडकमा ओर्लिए पनि प्रधानमन्त्रीले आफूपछि नहट्ने बताएका हुन् । बिहीबार थाइल्याण्डले आपतकालको घोषणा गर्दै पाँच जनाभन्दा धेरै मानिसको भेलामा रोक लगाउने निर्णय गरेको थियो । मुलुकमा तीन महिनादेखि जारी रहेको आन्दोलन नियन्त्रणका लागि भन्दै थाइल्याण्डको सरकारले आपतकाल लगाउने निर्णय गरेको थियो ।

थाइल्याण्डमा राजाको अधिकार कटौती तथा प्रधानमन्त्रीको राजीनामाको माग गर्दै प्रदर्शन भइरहेको छ । बिहीबार आपतकाल घोषणा गर्दै मानिसहरुको भेलामा प्रतिबन्ध लगाइएको भए पनि साँझपख राजधानी बैंककमा ठूलो प्रदर्शन भएको थियो । आपतकालीन मन्त्रिपरिषद्को बैठकपछि प्रधानमन्त्री प्रायुथले आफूले राजीनामा नदिने र पछिल्लो समय आन्दोलन हिंसात्मक बन्दै गएकाले आपतकाल लगाउँदै त्यस्तो गतिविधिमा संलग्नहरुलाई हिरासतमा लिइनु जरुरी रहेको बताए । आपतकाल घोषणासँगै प्रहरीले मुद्दा दायर नगरी ३० दिनसम्म प्रदर्शनकारीलाई हिरासतमा लिने अनुमति पाउँछ ।
प्रायुथले सबैलाई नियमको पालना गर्न आग्रह गरेका छन् । ‘तपाईंहरुले गलत काम गर्नुहुन्छ भने हामीले कानुनको प्रयोग गछौँ’, उनले भने । सन् २०१४ मा शक्तिमा आएका प्रधानमन्त्रीमाथि गत वर्ष भएको निर्वाचनमा धाँधली गरी जितेको आरोप छ । यद्यपि प्रायुथले भने गत वर्षको निर्वाचन स्वच्छरुपमा सम्पन्न भएको दाबी गर्दै आएका छन् ।
आन्दोलनकारीहरुले सैन्य शासनमा आएको संविधानको प्रारुपलाई विस्थापित गर्दै नयाँ संविधान निर्माण गरिनुपर्ने माग गर्दै आएका छन् । यद्यपि बिहीबारको प्रदर्शन निकै शान्तिपूर्ण देखिएको थियो । गत साता थाइल्याण्डमा ४० भन्दा धेरै आन्दोलनकारीहरु पक्राउ परेका थिए भने शुक्रबार हुन गइसकेको आन्दोलनमा थप मानिसहरु पक्राउ गर्ने तयारी भइरहेको अन्तर्राष्ट्रिय समाचार माध्यमहरुले बताएका छन् ।

स्रोत : रोयटर्स

प्रतिकृया दिनुहोस्